• on Airनेपाल खबर
  • Up Nextनेपाली अावाज खबर

ताजा अपडेट

विचार

n

राजनीति गर्दै हुनुहुन्छ ? :- बबिता बस्नेत

बबिता बस्नेत

 हाम्रोजस्तो मुलुकमा राजनीतिका अनेक पाटा छन् । कतिले भन्छन्– राजनीति सजिलो कार्य हो, आफैँले गरेका प्रतिबद्धताहरू पूरा गर्नु नपर्ने, जे बोले पनि हुने, नबोले पनि हुने, पैसा कमाउन दु:ख गर्नु नपर्ने, विभिन्न राजदूतावासले दिने छात्रवृत्तिमा छोराछोरीहरू पढाउन सकिने हुँदा आफ्ना लागि मात्र नभएर छोराछोरीका लागि पनि केही गर्नु नपर्ने । मनी, मसल र म्यानुपुलेसनले काम गर्ने हुँदा शक्तिका लागि सबैले मरिहत्ते गर्ने, शक्तिमा हुँदा कसैलाई वास्ता नगर्ने, महत्त्व नदिने, बाहिरिएपछि सबै कुरा महत्त्वपूर्ण लाग्ने ।

राजनीतिमा के हुन्छ त्यस्तो जसले मान्छेलाई मानवीय पक्षबाट टाढा स्वार्थतिर धकेलिदिन्छ ? राजनीतिकर्मी भन्नासाथ अन्य व्यावसायिक काम नै गर्नु नपर्ने, अनि जिन्दगी धान्नलाई कहाँबाट आउँछ स्रोत ? आदि–इत्यादि, यस्तै–यस्तै कुराहरू प्राय: राजनीति शब्दका वरिपरि घुम्ने गर्छन् । तर, के वास्तविकता सबैको उस्तै हुन्छ ? केही वर्षयता त झन् राजनीतिकर्मी भनेंपछि उनीहरूलाई जे भने पनि हुन्छ, जस्ता शब्द प्रयोग गरे पनि हुन्छ भन्नेझैँ भएको छ । राजनीतिकर्मीलाई जति गाली गर्न सक्यो उति लोकप्रिय भइन्छ जस्तो गरेर शब्दहरू खर्चिने गरिएको छ । केही राजनीतिकर्मीका कारण यस्ता सबै कुरालाई ‘ठीकै त छ नि’ या ‘ए गज्जब लेख्यो या बोल्यो’ भन्ने बनाइदिएको छ ।

के राजनीति गर्नेहरू सबै उस्तै छन् ? के यहाँ राम्रा राजनीतिकर्मी छँदै छैनन् ? छन् भने ती के गरिरहेका छन् ? उनीहरूका राम्रा कुराहरूलाई हामीले किन महत्त्व दिइरहेका छैनाँै ? सबै राजनीतिकर्मीलाई एकै ठाउँमा राखेर टिप्पणी गर्न मिल्छ कि मिल्दैन ? यदि राजनीतिलाई स्वच्छ, सफा, इमानदारीपूर्ण बनाउने हो बने अब यी प्रश्नहरूमा बहस गर्ने बेला आएको छ । राजनीति शब्दको सम्मान गर्दै राजनीति गर्ने हो भने राजनीतिकर्मी बन्न त्यति सहज छैन । राजनीति गर्नु भनेको न्याय गर्नु हो, मुलुक र जनताका प्रति वफादार भएर काम गर्नु हो । राजनीति त्याग पनि हो, राजनीति गर्नेहरूले व्यक्तिगत जीवनका कतिपय पाटाहरूलाई बिर्सिएर अघि बढ्नुपर्ने हुन्छ । महिला हुन् या पुरुष राजनीतिकर्मीमा निष्पक्षता र इमानदारी हुनैपर्छ । मुलुकका लागि इमानदार नहुने राजनीतिकर्मीलाई इतिहासले सम्झँदैन । सम्झे पनि सकारात्मक तरिकाले सम्झिँदैन । इतिहास त लेन्डुप दोर्जेको पनि छ ।

तर, कस्तो इतिहास ? सिक्कम विलयको इतिहास लेख्नेहरूले लेन्डुप दोर्जेका बारेमा धेरै कुरा लेखेका छन् । त्यसमध्येको एउटा सन्दर्भ सिक्किमका तात्कालीन प्रधानमन्त्री लेन्डुपले संसद्बाटै आफ्नो मुलुकलाई भारतमा विलय गराएपछि सन् १९७५ को मे १६ देखि एउटा स्वतन्त्र मुलुक सिक्किम अधिराज्य भारतको एउटा प्रान्त बन्न पुग्यो । सिक्किम विलयको इतिहास भएका पुस्तकहरूमा लेखिएको छ– भारतीय अधिकारीहरूको इसारामा सन् १९७५ को अप्रिल २६ मा मुलुक सुम्पिएको केही दिनपछि लेन्डुप दोर्जे तात्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई भेट्न नयाँदिल्ली गए । प्रधानमन्त्रीले डेढ घन्टा कुराइन् । उनका एक सल्लाहकारले लेन्डुपले आफूहरूलाई देश हस्तान्तरण गरेर त्यति ठूलो गुन लगाएको बिर्सन नहुने उल्लेख गर्दै उनलाई लामो समय कुराएर ह्युमिलेट नगर्न प्रधानमन्त्रीसँग आग्रह गरे । जवाफमा प्रधानमन्त्री इन्दिरा गान्धीले भनिन्, ‘आफ्नो स्वार्थका लागि आफ्नो जन्मभूमि अरूलाई सुम्पन सक्ने व्यक्ति कसरी राम्रो मान्छे हुनसक्छ ? मुलुक र जनतालाई धोखा दिने मान्छेको विश्वास हामीले कसरी गर्न सक्छौँ ? जो आफ्नो देशको भएन, ऊ कसरी हाम्रो देशको हुनसक्छ ? उसलाई प्रयोग गर्नु थियो गर्‍यौँ, अब धेरै महत्त्व दिइरहनु आवश्यक छैन ।’

पछि लेन्डुप दोर्जे सिक्कमका मुख्यमन्त्री बने । इतिहास त उनको पनि छ, तर धोखेवाज राजनीतिकर्मीका रूपमा, मुलुक र जनतालाई गद्दारी गर्ने राजनीतिकर्मीका रूपमा ।
इमानदार भएर मुलुक र जनताका लागि काम गर्ने हो भने राजनीति त्यति सजिलो काम होइन । जो पायो त्यहीले गर्न सक्ने कुरा पनि होइन । कुनै पनि समय अरूका लागि खर्च गर्नुपर्ने, मुलुकको हितलाई आफ्नो हित सम्झेर काम गर्नुपर्ने, मुलुकको सम्मानलाई आफ्नो आत्मसम्मानसँग जोडेर अघि बढ्नुपर्ने, जनतालाई परिवारका सदस्यका रूपमा लिनुपर्नेलगायतका कुराहरू हेर्दा एउटा असल राजनीतिकर्मी हुनु भनेको धेरै चुनौतीपूर्ण काम हो । तर, हामीकहाँ त अपराधीहरू पनि आफ्नो अपराधलाई छोप्न राजनीतिको खोल ओड्ने, नकारात्मक कुराहरू सबै गर्ने भएका कारण राजनीति बद्नाम हुँदै गएको हो ।
राजनीतिमा जानुअघि नै म केका लागि यो क्षेत्रमा जाँदै छु ? भनेर लाग्ने हो भने राजनीतिक क्षेत्र र राजनीतिकर्मी दुवै सम्मानित हुने वातावरण बन्ने थियो भन्न सकिन्छ ।

मूल्य–मान्यतामा रहेर राजनीति गर्नेहरूका लागि राजनीति धेरै गाह्रो छ । राजनीति न त अपराधीहरू जोगाउने कुरा हो न त अपराधीहरूसँग साँठगाँठ गर्ने र भ्रष्टाचार गर्ने लाइसेन्स नै । प्राय: महिला राजनीतिकर्मीको भनाइ रहनेगरेको छ कि महिलालाई राजनीति गर्न धेरै गाह्रो छ । पैसाबिना राजनीति हँुदैन र महिलासँग पैसा हुँदैन । मूल्यसहितको राजनीति गर्ने पुरुषहरूलाई पनि राजनीति गर्न त्यति सहज छैन । तर, हामीकहाँ अचम्म के छ भने मूल्य–मान्यतामै रहेर राजनीति गर्नेहरू पनि उच्च पदमा पुगेपछि अर्कै बन्छन् । नेता प्रचण्डको शब्दमा भन्ने हो भने ‘पदमा पुगेपछि खै के हुँदोरहेछ के, जताततै झिलिमिली देखाउने मानिसहरू हुँदारहेछन् । त्यसै फसिनेरहेछ ।’ उहाँले आफू प्रधानमन्त्री हुँदा जताततै झिलिमिली देखेको कुरा इमानदारीपूर्वक बताउनुभएको थियो । पद भन्ने कुरा मिहिनेत र अवसरबाट प्राप्त हुने कुरा हो । त्यस्तो अवसरलाई झिलिमिलीभन्दा पर वास्तविकतामा रहेर साधारण रूपमै जनउपयोगी बनाउन सकिन्छ ।

कतिपय मानिस हुन्छन् जो पदमा नहुँदा एउटा व्यवहार गर्छन् र पदमा पुगेपछि अर्कै व्यवहार गर्छन् । सबैसँग उस्तै व्यवहार गरेर पनि पदमा हुँदा कुनै न कुनै दूरगामी प्रभाव पर्ने खालको काम गर्न सकिन्छ । तर, हाम्रो समस्याचाहिँ के हो भने मन्त्री या अन्य कुनै महत्त्वपूर्ण पदमा रहँदा राम्रो काम गरेर जनताको मन जित्नेहरूले दोस्रो अवसर नै पाउँदैनन् । राम्रो काम गर्नेहरूले पैसा कमाउँदैनन्, आफूले नकमाएपछि अरूलाई दिन सक्दैनन्, जसका कारण उनीहरू दोस्रो अवसरबाट वञ्चित हुन्छन् । यो हाम्रो राजनीतिक क्षेत्रको तीतो वास्तविकता हो ।

चाहेर वा नचाहेर हामी नयाँ राजनीतिक परिवेशमा अगाडि बढिरहेका छौँ । बद्नाम राजनीतिलाई सुधार गर्न चाहने हो भने यो नै सही समय हो । विभिन्न प्रदेशहरूको निर्माणसँगै एउटा राम्रो राजनीतिकर्मीमा हुने गुणहरूसहितका व्यक्तिहरूलाई प्रोत्साहित र स्वार्थीहरूलाई निरुत्साहित गर्नका लागि दलहरूलाई अवसर प्राप्त छ । राजनीतिकर्मीहरूको शिर ठाडो बनाउन राजनीतिकर्मीहरूले नै पहल गर्न आवश्यक छ । यस्तो पहल भनेको मुलुक र जनताकेन्द्रित काम नै हो । राजनीतिलाई फोहोरी खेलबाट स्वच्छ प्रतिस्पर्धा र मुलुकका लागि योगदानमा रूपान्तरण गर्नका लागि पहल गरौँ । जसका लागि यदि तपाईं राजनीति गर्दै हुनुहुन्छ भने सबैभन्दा ठूलो योगदान तपाईंकै हुनेछ ।

Ghatanarabichar.com